‘सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा लगानी गर्नुपर्छ’
‘वर्तमान बजेटको सन्दर्भमा, त्यसको प्रभावकारी कार्यान्वयनको सन्दर्भमा, त्यसलाई अगाडि बढाउन के के कुराहरु सच्याउनुपर्छ । यी विषयमा म सरकारसँग निरन्तर कुराकानी गरिरहेको छु,’ उनले भने ।-1717843945.png)
काठमाडौं, जेठ २६ : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन्।
एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घान गर्दै उनले सरकारले अब पुँजी र प्रविधिको बाटो लिनुपर्ने बताए।
‘हामीले उत्पादन र रोजगारीका क्षेत्र विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा हामी आफैंले पनि पुँजी र प्रविधिको बाटो दिनुपर्छ। हाम्रो पुँजी र प्रविधिले पुगेन भने बाहिरबाट आकर्षित गर्ने त्यो बाटोमा जानुपर्दछ,’ उनले भने, ‘मुख्य कुरा आफैंले पुँजीको सिर्जना गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा सरकारसँग मेरो कुराकानी भइरहेको छ।’
वर्तमान बजेट र यसको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा सरकारसँग आफू संवादमा रहेको भनाइ अध्यक्ष ओलीले राखे।
वर्तमान बजेट, यसमा सच्याउनुपर्ने विषय र बजेटको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर छलफल गरिरहेको उनले बताए। एमाले वर्तमान सत्ता गठबन्धनमा छ।
अध्यक्ष ओलीले केहीअघि अर्थमन्त्री वर्षमान पुनले ल्याएको आगामी वर्षको बजेटका विषयमा आलोचनात्मक टिप्पणी गरेका थिए। पार्टी कार्यकर्तामाझ भने उनले असहमति प्रकट गरेनन्।
‘वर्तमान बजेटको सन्दर्भमा, त्यसको प्रभावकारी कार्यान्वयनको सन्दर्भमा, त्यसलाई अगाडि बढाउन के के कुराहरु सच्याउनुपर्छ । यी विषयमा म सरकारसँग निरन्तर कुराकानी गरिरहेको छु,’ उनले भने ।
कृषिमा आधारित उद्योग र प्रविधिको क्षेत्रले मुलुकको औद्योगिकरणको निर्धारण गर्ने भन्दै उनले यसमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।
‘अब हामीले कृषिमा आधारित उद्योग र अन्य उद्योगका लागि र उत्पादनमा प्रविधिको प्रयोग लगायतका काममा जति काम गर्न सकिन्छ त्यसले हाम्रो मुलुकको औद्योगिकीकरणको निर्धारण गर्नेछ,’ उनले भने।
कच्चा पदार्थको आयात सहज नभइसकेको सन्दर्भमा त्यतापट्टि सरकारको पर्याप्त ध्यान जान नसकेको उनले बताए । तयारी वस्तुलाई निर्यातलाई प्रोत्साहित गर्नुपर्ने भनाइ उनले राखे।












