प्रधानमन्त्री दाहाल भोलि नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने
प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम छ।
काठमाडौं, जेठ २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलिभारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी पनि भारत जाने छन्। प्रधानमन्त्रीसहितको टोली जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो। प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थए।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी थिए।
प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्ंकाका राष्ट्रपति रनिल विक्रमासिङघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरिएको छ।












