टी–२० विश्वकपमा क्यानडाले आयरल्यान्डलाई हरायो
न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा क्यानडाले टेस्ट राष्ट्र आयरल्यान्डलाई १२ रनले हरायो।काठमाडाैं, जेठ २६ : आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले पहिलो जित निकालेको छ।
न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा क्यानडाले टेस्ट राष्ट्र आयरल्यान्डलाई १२ रनले हरायो।
पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्याण्डलाई पराजित गरेपछि सुपर एटको होड कायम राखेको छ। आयरल्यान्डको भने यो लगातार दोस्रो हार हो। आयरल्यान्ड यसअघि भारतसँग पराजित भएको थियो।
यो समूहको लगतार दोस्रो खेलमा एसोसिएट राष्ट्रले टेस्ट टिमलाई हराएको हो। यसअघि बिहीबार अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो।
क्यानडाले दिएको १३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ७ विकेको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो। उसका लागि आठौं नम्बरमा ब्याटिङका लागि आएका मार्क अदिरले २४ बलमा ३ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३४ रन बनाए।
यस्तै, जर्ज डकक्रेलले २३ बलमा ३० रन बनाए। कडक्रेल र अदिरले सातौं विकेटका लािग ६१ रनको साझेदारी गर्दै टिमको जितका आशा जगाएका थिए। तर, त्यो सफल भने भएन। यी दुईबाहेक एन्डी बेलबर्नीले १७ र लोर्कन टुकरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा क्यानडाका जेरेमी गोर्डन र डिलोन हेलिगरले समान २ विकेट लिँदा जुनैद सिद्धिकी र साद विन जाफरले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको क्यानडाले ७ विकेटको क्षतिमा १३७ रन बनायो। उसका लागि निकोलर क्रिटोनले सर्वाधिक ४९ रन बनाए। उनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै, श्रेयस मोवाले ३६ बलमा ३७ रन बनाए। यी दुईले पाँचौं विकेटका लागि ७५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यस्तै, पारगत सिंहले १८ र आरोन जोन्सनले १४ रन बनाए।
बलिङमा आयरल्यान्डमा क्राइङ योङ र ब्यारी म्याकार्थीले समान २ विकेट लिए।