‘ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छ’
डाँडापारिको तालढुंगालाई बनेपा र धुलिखेलसँग जोड्ने मुख्य सडक तालढुंगा–खोपासी सडकका लागि यसै वर्षबाट बजेट व्यवस्थापन गरी अगाडि बढाउने बताए।
धुलिखेल, जेठ २५ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताएका छन्।
काभ्रेका खानीखोला गाउँपालिकास्थित तालढुङ्गामा आयोजना गरिएको जनमुक्ति मार्ग–तालढुङ्गा–सिक्रेदोभान–झुरझुरे सडकखण्ड आयोजना तथा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास र पालिकाको व्यवस्थापनमा आजबाट सञ्चालनमा ल्याएको स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्घाटनका अवसरमा उनले प्रदेशको विकासमा सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री जम्कट्टेलले विगतमा छुटेका तालढुंगा करिडोर र पालिकास्तरीय आधारभूत अस्पतालका लागि आगामी आर्थिक वर्षको सम्बोधन गर्ने जानकारी दिए। डाँडापारिको तालढुंगालाई बनेपा र धुलिखेलसँग जोड्ने मुख्य सडक तालढुंगा–खोपासी सडकका लागि यसै वर्षबाट बजेट व्यवस्थापन गरी अगाडि बढाउने बताए।

‘खोपासी–तालढुङगा सडकको नाम नै हराउन लागेकोमा अब यस वर्षबाट नै सुरु गर्नेछौं,’ उनले भने, ‘त्यसका लागि चिन्ता नलिनुहोस्, अब संघीय सरकारले सुम्पेको सडक प्रदेश सरकारले गर्नेछ।’
संघीय सरकारले प्रदेश सरकारलाई सुम्पेको करिब तीन सयभन्दा बढी सडकको गुरुयोजना प्रदेश सरकारले बनाइसकेकाले अब ती सबै आयोजनाको काम निरन्तर अगाडि बढ्ने उनको भनाइ थियो।
उनले परिवर्तनका लागि जनमुक्ति सेनाले ज्यानको बाजी लगाएर लडेर ल्याएको व्यवस्थालाई स्थापित गर्नका लागि हिजोको गौरवपूर्ण क्रान्ति र जनमुक्ति सेनासँग जोडिएको मार्गका रुपमा लिएर काम अगाडि बढाइरहेको उनले बताए। बिपी राजमार्गदेखि महाभारत पहाड हुँदै मदनभण्डारी राजमार्ग जोड्ने सडकका रुपमा जनमुक्ति मार्ग निर्माण भएको मुख्यमन्त्री जम्कट्टेलले बताए।

सो क्रममा उनले पूर्वाधार विकासका सबै काम प्रदेश सरकारले जिम्मा लिने भएकाले अब स्थानीय सरकार कृषि उत्पादन र प्राविधिक शिक्षालाई अगाडि बढाउनका लागि योजना बनाउनतर्फ लाग्नुपर्ने धारणा राखे।
यस्तै, प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले डाँडापारिको विकासका लागि शिक्षा क्षेत्रबाट सुधार गर्दै भौतिक पूर्वाधारका काममा प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताए। जनताको विकासप्रतिको चाहना पूरा गर्नका लागि संघीय सरकार साथमा नै रहेको उल्लेख गर्दै उनले जनतालाई सुविधा प्रदान गर्न सबै एकजुट भएर लाग्न आग्रह गरे।
बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तीर्थ लामाले विकासका काममा सबै राजनीतिक दल र नागरिक सबै एकजुट भएर काम गर्नका लागि एकबद्धता आवश्यक रहेको बताए।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले डाँडापारिका नागरिकले आफ्नै गाउँमा कालोपत्र सडक र सिंहदरबारको सुविधा घरआँगनमा नै प्राप्त गर्न सफल हुँदै गएको बताए। काभ्रेपलाई सुगमका गन्तव्यका रुपमा देखिए पनि विकटमा रहेका डाँडापारिका भारत र खानीखोला गाउँपालिकाका नागरिकले सङ्घीयता आएपछि विकासको अनुभव गर्न पाएको बताए।
जनमुक्ति मार्गको निर्माण सुरु भएपछि अब प्रदेश राजधानी जोड्ने ४४ किलोमिटर सडक पक्की बन्ने काम भइरहेको उनले बताए।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सो क्षेत्रका नागरिकलाई विकासको अनुभव हुने गरी प्रदेश सरकारल बजेट बिनियोजन गर्नुपर्नेमा जोड र्दिए। जनमुक्तिमार्ग र खोपासी–तालढुङगा सडकखण्ड पक्की बनेपछि स्थानीयलाई सहजता हुने अपेक्षा व्यक्त गरे।












