नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा मन्त्री तामाङको जोड
सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत घोषणा गरेको पर्यटनका कार्यक्रमलाई कार्यान्वयन गर्न र १६ लाख पर्यटकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले योजना कार्यक्रम बनाएर अघि बढ्ने उनले बताए।-1717737892.png)
काठमाडौं, जेठ २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन जरुरी भएको बताएका छन्।
प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटां) नेपालको ४५औं वार्षिक साधारणसभाको अवसरमा उनले बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पुराना पर्यटकीय प्याकेजका साथै नयाँ सम्भावनायुक्त गन्तव्यको खोज, अध्ययन र प्रवर्द्धन गरिनुपर्ने बताए।
‘नयाँ गन्तव्यहरू पहिचान गर्नुपर्यो। हिमालमात्रै होइन, संस्कृतिको पनि प्रवर्द्धन जरुरी छ,’ पर्यटनमन्त्री तामाङले भने, ‘नेपालमा अथाह पर्यटकीय सम्भावना हुँदा पनि बढी पर्यटक आकर्षण गर्न सकिरहेका छैनौं।’
सरकारले बजेट र नीति तथा कार्यक्रममार्फत घोषणा गरेको पर्यटनका कार्यक्रमलाई कार्यान्वयन गर्न र १६ लाख पर्यटकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले योजना कार्यक्रम बनाएर अघि बढ्ने उनले बताए।
पाटा नेपाल च्याप्टरको अध्यक्षमा पर्यटन उद्यमी खेम लकाइ निर्वाचित हुनुभएको छ । वार्षिक साधारणसभाले लक्काईको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
संस्थाको महासचिवमा नरेन्द्रदेव भट्ट र कोषाध्यक्षमा रितल राना चयन भएका छन् भने कार्यसमिति सदस्यमा लाक्पाफुटी शेर्पा, हिम्मत पुरी, सरिता लामा, सुनिल भट्टराई चयन भएका छन्।












