कोरोनाका बिरामीलाई बचाउन सस्तो भेन्टिलेटर बनाउँदै भारत
पुणेका युवा इन्जिनियर सस्तो भेन्टिलेटर बनाउने दौडमा छन्। कोरोना भाइरसको महाव्याधिले भारतीय अस्पतालमा चाप बढे यस्तो भेन्टिलेटरले हजारौं ज्यान बचाउनेछ।
भारतको ....
पुणेका युवा इन्जिनियर सस्तो भेन्टिलेटर बनाउने दौडमा छन्। कोरोना भाइरसको महाव्याधिले भारतीय अस्पतालमा चाप बढे यस्तो भेन्टिलेटरले हजारौं ज्यान बचाउनेछ।
भारतको उत्कृष्ट इन्जिनियरिङ कलेजका यी इन्जिनियरले स्टार्ट अप खोलेको दुई वर्ष हुँदैछ। उनीहरू सोलार प्लान्ट सफा गर्ने वाटर लेस रोबोट बनाउँछन्।
पोहोर नोक्का रोबोटिक्सले २८ लाख भारू बराबरको कारोबार गर्यो। त्यहाँ कार्यरत मेकानिकल, इलेक्ट्रोनिक र एरोस्पेस इन्जिनियरको औसत आयु २६ वर्ष छ।
भारतमा अनुमानित ४८ हजार भेन्टिलेटर मात्रै छन्। तीमध्ये कति चालु अवस्थामा छन्, कसैलाई थाहा छैन। तर एउटा अनुमान भने गर्न सकिन्छ। उपलब्ध सबै भेन्टिलेटर सघन उपचार कक्षमा अन्य बिरामीले प्रयोग गरिरहेका छन्।
कोभिड १९ को ६ जना रोगीमध्ये एक जना गम्भीर बिरामी हुन्छन्। त्यसमा सास फेर्ने समस्या पनि पर्छ। भारतमा कम्तिमा दुई वटा कम्पनीले भेन्टिलेटर बनाउँछन्। त्यो पनि आयातित पाटपूर्जाबाट बन्ने हुन्।
एउटा भेन्टिलेटरको मूल्य करिब डेढ लाख भारू छ। दुईमध्ये एजीभिए हेल्थकेयर एक महिनाभित्र २० हजार भेन्टिलेटर बनाउने योजनामा छ। भारतले १० हजार चीनबाट पनि मगाएको छ। तर यसले माग पूरा हुँदैन।
नोक्का रोबोटिक्सका इन्जिनियरले बनाइरहेको भेन्टिलेटर ५० हजार भारू पर्नेछ। काम सुरू गरेको पाँच दिनभित्र सात जना इन्जिनियरको समूहले तीन वटा प्रोटोटाइप तयार गरेका छन्। अहिले ती भेन्टिलेटरको कृत्रिम फोक्सोमा परीक्षण भइरहेको छ। अप्रिल ७ सम्म बिरामीको परीक्षण गर्ने तयारी थालिएको छ।
जयदेव इन्स्टिट्युट अफ कार्डियोभास्कुलर साइन्सेस एन्ड रिसर्चका मुटुरोग विशेषज्ञ डा. दिपक पद्मनभन भन्छन्,“यो सम्भव छ। कृत्रिम फोक्सोमा गरिएको परीक्षण सफल देखिएको छ।”
बिबिसी