प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघ महासचिवको निमन्त्रणा
सो अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेको आभार व्यक्त गरेका थिए।काठमाडौं, जेठ २४ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरेका छन्।
नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगरले प्रधानमन्त्रीलाई भेटर महासचिव गुटेरेसको निमन्त्रणापत्र हस्तान्तरण गरेकी छिन्।
सो अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेको आभार व्यक्त गरेका थिए। उनले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको बताएका थिए।
राष्ट्रसंघका आवासीय प्रतिनिधि सिंगरले संयुक्त राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग लिनुपर्ने बताइन्।
जलवायु परिवर्तनलगायत समकालीन चुनौतीका साथै दिगो विकास लक्ष्य प्राप्तिलगायत विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको आयोजनामा आगामी सेप्टेम्बर २२ र २३ मा न्यूयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो।












