पुनः मतगणनाको आदेशविरुद्ध व्यासका मेयर सर्वोच्चमा
व्यास नगरपालिकाको एक विवादमा उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि संवैधानिक र कानुानी प्रश्न उब्जाउँदै मेयर बैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दिएका हुन्।
काठमाडौं, जेठ २४ : तनहुँको व्यास नगरपालिकाको मत गणना विवादलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
व्यास नगरपालिकाको एक विवादमा उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि संवैधानिक र कानुानी प्रश्न उब्जाउँदै मेयर बैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दिएका हुन्।
रिटमा पुनः मतगणनाको आदेश रोक्न तत्कालका लागि अन्तरिम आदेशको माग गरिएको छ। सर्वोच्च अदालत प्रसासनले उक्त रिटमा सुनुवाईका लागि जेठ २७ गतेका लागि पेशी तय गरेको छ।
उच्च अदालत पोखराको आदेश अनुरुप पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने दाबी मेयर न्यौपानेको छ।
उच्च अदालत पोखराले गत जेठ १ गते व्यास नगरपालिकाको पुनःमतगणना गर्न आदेश दिएको थियो। उच्चले आगामी असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भनेको छ।
२०७९ वैशाखमा भएको स्थानिय निर्वाचनमा नगरपालिका प्रमुखका उम्मेदवार बनेका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा रिट दिएका थिए।
पुर्वमन्त्री गोविन्दराज जोशीका छोरा रहेका दीपकराजले निर्वाचनमा धाँधलीको आरोप लगाउँदै दिएको रिटमा पुनः मतगणनाको आदेश भएपछि कानुनी विवाद सिर्जना हुँदै आएको छ।












