ओमानमाथि अस्ट्रेलियाको सहज जित
बार्बाडोसको ब्रिजटाउनमा आज बिहान भएको खेलमा अस्ट्रेलियाले ओमानमाथि ३९ रनको जित निकाल्यो।काठमाडाैं, जेठ २४ : अमेरिका र वेस्टइन्डिजमा जारी टि–२० विश्वकपमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ। बार्बाडोसको ब्रिजटाउनमा आज बिहान भएको खेलमा अस्ट्रेलियाले ओमानमाथि ३९ रनको जित निकाल्यो।
अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो। ओमानको यो लगातार दोस्रो हार हो। यसअघि स्कटल्यान्डसँग सुसर ओभरमा पराजित भएको थियो।
उसका लागि आयन खानले सर्वाधिक ३६ रन बनाउँदा मेरान खानले २७, कप्तान अकिब इनियासले १८ र सकील अहमदले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनउान सकेनन्।
ओमानको इनिङ धरासायी बनाउने क्रममा मार्कस स्टोइनिसले ३ तथा एडम जाम्पा, मिचेल स्टार्क र नाथन इनियसले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले स्टोइनिस र डेविड वार्नरको अर्धशतक मद्दतमा ५ विकेटको क्षतिमा १६४ रन बनायो। स्टोइनिसले ३६ बलमा २ चौका र ६ छक्का मद्दतमा ६५ नटआउट रन बनाए। यस्तै, वार्नरले ५१ बलमा ६ चौका र १ छक्का मद्दतमा ५६ रन बनाए।
बलिङमा ओमानका मेरान खानले २ तथा बिलाल खान र कलिमुल्लाहले समान १ विकेट लिए।