‘बजेटले नयाँ चरणको आर्थिक सुधारको मार्ग चित्रण गर्न सकेन’
बजेटमा उच्चस्तरीय आर्थिक सुधार आयोग बनाएर नयाँ चरणको आर्थिक सुधार नहुने बताउँदै उनले जति आर्थिक सुधारका कुरा गरे पनि अहिलेकै संरचनामा केही हुन नसक्ने उनको उल्लेख गरे।काठमाडौं, जेठ २३ : नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले अहिलेको बजेटले नयाँ चरणको आर्थिक सुधारको मार्ग चित्रण नगरेको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा थापाले बजेटमा प्रधानमन्त्रीले नै चासो नराखेको कुनै आशावादी हुने ठाउँ नरहेको बताएका हुन्। उनले नयाँ चरणको आर्थिक सुधार कसरी हुन्छ भनेर अर्थमन्त्रीलाई प्रश्न समेत गरेका छन्।
बजेटमा उच्चस्तरीय आर्थिक सुधार आयोग बनाएर नयाँ चरणको आर्थिक सुधार नहुने बताउँदै उनले जति आर्थिक सुधारका कुरा गरे पनि अहिलेकै संरचनामा केही हुन नसक्ने उनको उल्लेख गरे।
‘हामी त्यही एक खर्बको बजेट भएको स्ट्रक्चरबाट १६र१७ खर्बमा पुग्दै गर्दाको हाम्रो कर्मचारीको क्षमता यही छ। त्यही संरचना, त्यही शैली र त्यही सामर्थ्यले काम त्यही गरेर परिणाम फरक आउँदैन। परिणाम फरक ल्याउन जुन जोश जाँगर चाहिने हो,’ थापाले भने, ‘जुन खालको एउटा सृजनसीलता चाहिने हो, त्यो अर्थमन्त्रीमा मात्र हैन प्रधानमन्त्रीमा पनि देखिएन।’
एउटै पार्टीको अर्थमन्त्री र अर्थसचिव उही हुँदा करका विषयमा वर्षैपिच्छे फरक आउँदा आशंका गर्ने ठाउँ प्रशस्त रहेको पनि उनले बताए। बजेटको विश्वसनीयतामाथि प्रश्न उठेको बताउँदै उनले अहिले नेपालको अर्थतन्त्रलाई कडा रोग लागेको पनि बताए।
‘अर्थतन्त्रमा कडा रोग लागेको छ। यो रोग रातारात लागेको होइन, यसमा हामी सबै जिम्मेवार छौं, म कसैलाई दोष दिन चाहन्नँ,’ उनले भने, ‘वर्षौंदेखि हामीले जुन संरचना बनायौँ, हाम्रो यो संरचनाले गर्दा आएको समस्या छ, यो संरचना नबदलिकन हुँदैन।’