चैत तेस्रो सातादेखि त्रिभुवन विमानस्थल दैनिक १० घन्टा बन्द
काठमाडौं, फागुन १४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत तेस्रो सातादेखि दैनिक १० घन्टा बन्द हुने भएको छ ।
नेपालकै एकमात्र अन्तर्राष....
काठमाडौं, फागुन १४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत तेस्रो सातादेखि दैनिक १० घन्टा बन्द हुने भएको छ ।
नेपालकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको ५० वर्ष पुरानो धावनमार्गको चैत १८ गतेदेखि मर्मत गरिँदैछ । पुरानो धावनमार्गको कालोपत्र उप्काएर नयाँ लाउने र अन्य मर्मतसम्भार गर्ने काम जेठ १५ मा मात्रै सकिनेछ । यसैले, यो अवधिभर दैनिक १४ घन्टा मात्रै विमानस्थल सञ्चालन हुनेछ । हाल विमानस्थल दैनिक २१ घन्टा खुल्छ ।
धावनमार्ग मर्मत अवधिभर विहान ८ देखि बेलुका १० बजेसम्म मात्रै विमानस्थल खुल्ने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
पुरानो कालोपत्र मक्केर धावनमार्ग भत्किँदा पटक–पटक समस्या हुँदै आएको छ । खासगरी ठूला जहाजहरूलाई उडान र अवतरणमा समस्या हुने गरेको थियो । नयाँ कालोपत्र राखिएपछि विमानस्थल अकस्मात बन्द गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ ।
प्राधिकरणले धावनमार्ग मर्मतको ठेक्का ३ अर्ब ७५ करोड रुपैयाँमा चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनलाई दिइसकेको छ । चिनियाँ कम्पनीले ३ हजार ५० मिटर लामो धावनमार्गसँगै ट्याक्सी मार्गमा पनि कालोपत्र गर्दैछ ।
चिनियाँ कम्पनीले ४९ दिनभित्रै धावनमार्ग मर्मत सक्ने भने पनि प्राधिकरणले उसलाई ७० दिनको समय दिएको छ । कम्पनीले दैनिक ८० मिटरभन्दा बढी धावनमार्गमा ३० देखि ५३ सेन्टिमिटर गहिरो कालोपत्र गर्नेछ ।
धावनमार्ग मर्मतको काम सकिएपछि त्रिभुवन विमानस्थल २४ सै घन्टा सञ्चालन हुने प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले काठमाडौं प्रेसलाई बताए ।
सन् २०१४ मा विमानस्थल सुधार कोष बनाएर प्राधिकरणले प्रत्येक हवाई यात्रुसँग १ हजारभन्दा बढी रुपैयाँ उठाउँदै आएको छ । सोही कोषको रकमबाट विमानस्थलको सुधार कार्य भइरहेको छ । नयाँ कालोपत्र गर्ने काम पनि यही कोषको खर्चमा हुन्छ । हालसम्म यो कोषमा ७ अर्ब रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ ।
प्राधिकरणले लामो समयदेखि धावनमार्गको कालोपत्र फेर्ने योजना बनाएको भए पनि काम अघि बढ्न सकेको थिएन । नयाँ कालोपत्र गरिएपछि त्रिभुवन विमानस्थलमा आगामी २० वर्षसम्म ठूला वाइडबडी जहाजहरूलाई उडान र अवतरणमा समस्या नहुने दाबी प्राधिकरणको छ ।
हवाई इन्धनको ट्यांकी भूमिगत
नेपाल आयल निगमले हवाई इन्धन भन्डारणको ट्यांकीलाई भूमिगत गर्ने भएको छ । हाल जमिनमाथि र विमानस्थल नजिकै रहेकोले सम्भावित दुर्घटना टार्न आयल निगम ट्यांकीलाई भूमिगत गर्न तयार भएको हो । एउटा ट्यांकी भूमिगत गर्न कम्तीमा २० करोड रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान छ । ६ वटा ट्यांकीलाई भूमिगत गरिने छ । ट्यांकी भूमिगत गरेसँगै जहाजमा तेल हाल्न अब ट्यांकर विस्थापन गरिने भएको छ । ट्यांकीबाट सिधै पाइपमार्फत जहाजसम्म तेल राख्ने व्यवस्था गरिने भएको छ ।