क्षेत्रगत प्राथमिकीकरण गरेकोले बजेट सकारात्मक : सांसद् वाग्ले
पहिलो डिजिटलाइजेसनमा बजेटले लिएको लक्ष्य सकारात्मक रहेको बताउँदै उनले यसमा समय र लक्ष्य निर्धारण गरिएकाले त्यसलाई पूरा गर्न सकिने उल्लेख गरे। आईटी पार्क, ज्ञान पार्कजस्ता बुँदाले बजेटको मार्गलाई दिशानिर्देश गरेको उनको भनाइ छ ।काठमाडौं, जेठ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद स्वर्णिम वाग्लेले सन्तुलित बजेट आएको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले अहिलेको बजेट क्षेत्रगत मिसनमा आएको बताए।
यो वर्षको बजेटमा मिसन मोडमा काम गर्नेगरी क्षेत्रगत प्राथमिकीकरण गरेकोले यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताए। ‘यसपालि अर्थमन्त्रीजीले जानेर नजानेर अलिकति केही मिसन मोडमा काम गर्ने गरेर केही क्षेत्रहरूको प्राथमिकीकरण गर्नु भएको छ,’ उनले भने, ‘ग्रोथ ड्राइभ गर्ने ५–६ वटा इन्जिनहरूको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नुपर्छ।’
पहिलो डिजिटलाइजेसनमा बजेटले लिएको लक्ष्य सकारात्मक रहेको बताउँदै उनले यसमा समय र लक्ष्य निर्धारण गरिएकाले त्यसलाई पूरा गर्न सकिने उल्लेख गरे। आईटी पार्क, ज्ञान पार्कजस्ता बुँदाले बजेटको मार्गलाई दिशानिर्देश गरेको उनको भनाइ छ ।
एक सय वर्षको इतिहासमा ऊर्जामा करिब तीन हजार मेगावाटको हाराहारीमा जडित क्षमतामा आइपुगेको भन्दै आगामी वर्षसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य सकारात्मक रहेको उनले बताए। जलविद्युत् क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानु पर्नेमा उनको जोड छ।
पर्यटनमा १६ लाखका कुरा गरिएको भन्दै त्यसलाई दैनिक खर्च र पर्यटकको औसत बसाइलाई लम्ब्याउनुपर्ने उनको भनाइ छ । पर्यटकको टाउको गनेर मात्रै नहुने वाग्लेले बताए । यी सबै विषयहरू मिसन मोडमा नै आएको उनले बताए।
जीडीपीको तुलनामा यो वर्षको बजेट घटेको बताउँदै उनले अहिलेको बजेट कार्यान्वयनमा लान सके ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहज हुने उनले बताए।