१४ बुँदे घोषणापत्र जारी गर्दै कोशी प्रदेश युवा सम्मलेन सम्पन्न
युवा उद्यमशीलता, व्यक्तित्व विकास, स्वरोजगार मैत्री तालिम, प्रविधिमा विकास एवं उपयोगिता, पर्यटन, कृषिजन्य उत्पादन र रैथाने बालीको संरक्षण एवं प्रवर्धन लगायतका विषयहरु “कोशी घोषणापत्र” मा समावेश भएका छन् ।
मोरङ, जेठ १६ : “उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मूल नाराका साथ तेश्रो प्रदेश युवा सम्मलेन २०२४ः कोशी प्रदेश १४ बुँदे “कोशी घोषणापत्र” जारी गर्दै मोरङमा सम्पन्न भएको छ ।
सम्मेलनमा ऐनसेल, खल्ति, कोकाकोला वेभरेजेस नेपाल, जीवन विकास समाज लगायतको विशेष सहयोग रहेको थियो। युवा उद्यमशीलता, व्यक्तित्व विकास, स्वरोजगार मैत्री तालिम, प्रविधिमा विकास एवं उपयोगिता, पर्यटन, कृषिजन्य उत्पादन र रैथाने बालीको संरक्षण एवं प्रवर्धन लगायतका विषयहरु “कोशी घोषणापत्र” मा समावेश भएका छन् ।
नेपाल युवा परिषदको आयोजना, कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका तथा जहदा गाउँपालिकाको सहकार्यमा मोरङको कटहरी गाउँपालिका स्थित जीवन विकास समाजको हलमा गत जेठ १२, १३ र १४ गते सञ्चालित सम्मेलनको उद्घाटन कोशी प्रदेश सभाका माननीय सभामुख अम्बर बहादुर विष्टले गरेका थिए । उद्घाटन समारोहका प्रमुख अतिथि विष्टले सम्बोधन गर्दै भने, “युवाहरूले देशमै केही गर्नका लागि सरकारले नै वातावरण सिर्जना गर्नुपर्दछ, युवाहरुका लागि तिनै तहका सरकारले नै युवामैत्री निति तथा कार्यक्रम निर्माण गर्नु पर्दछ” साथै उनले कोशी प्रदेशमा अबको निति तथा कार्यक्रम युवामैत्री बनाउन आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
कोशी प्रदेशको १४ वटै जिल्लाका २०५ जना युवाहरुको सहभागीता रहेको सम्मेलनको समापन समारोहमा कोशी प्रदेशका माननीय सामाजिक विकास मन्त्री पाँच कर्ण राई ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रमको सम्बोधनका क्रममा माननीय मन्त्री राईले भने “युवाको क्षेत्रमा सामाजिक विकास मन्त्रलायले के गर्न सकिन्छ भन्ने कुरामा अलिक बढी चिन्तित बनिरहेको थिएँ, तपाईहरुको कोशी घोषणापत्रले मलाई फेरि पनि एउटा नयाँ जोशजाँगर र इच्छाशक्ति प्रदान गरेको छ।
सम्मेलनमा शिक्षा, स्वास्थ्य, खेलकुद, पत्रकारिता एवं अन्य विभिन्न क्षेत्रमा समाज र राष्ट्रमा योदान पुर्याउँदै आउनु भएका कोशी प्रदेशका ९ जना व्यक्तित्वहरुलाई आईकन अफ कोशी प्रदेशबाट सम्मान समेत गरिएको थियो । युवाहरुलाई विभिन्न तह र तप्कामा नेतृत्वदायी भूमिकामा ल्याउनका लागि उद्यमशीलता एवं व्यक्तित्व विकास, दिगो विकास लक्ष्य प्राप्ति, सिप विकास, सुशासन, आन्तरिक पर्यटन प्रवर्द्धन, रैथाने कृषि उत्पादन एवं स्थानीय कला–संस्कृति संरक्षण, जलवायु परिवर्तन, कृषिमा आधारित पेशाको विकास र महिला सशक्तिकरणका विषयगत सेसन सञ्चालन गरिएको थियो र सहभागी भएका युवाहरुलाई पाँच ओटा बिभिन्न समूहमा बिभाजन गरी २७ बुदाँको कोशी प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गर्न सफल भएको थियो र उक्त कार्ययोजना कोशी प्रदेश सरकार, माननीय मुख्यमन्त्री, सामाजिक विकास मन्त्रलायलाई बुझाउने कुराको जानकारी नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताएका छन् ।
कोशी प्रदेशको १४ वटै जिल्लाबाट सहभागीहरु छनोट गरिएको थियो, जसमा दलित, आदिवासी, जनजाति, मधेसी, थारू, सीमान्तकृत समूह, अपाङ्गता, मुस्लिम, एलजिबिटीआई बाट प्रतिनिधित्वमूलक समावेश रहेको थियो । सम्मेलनमा दिगो विकास लक्ष्यको लागि वकालत गर्दैः एक राम्रो विश्वको लागि युवा अभियान, युवा उद्यमशीलताको सृजनाः सम्भावना र रचनात्मकताको प्रवर्द्धन, जलवायु कार्यमा युवा संलग्नता, निति निर्माण तहमा युवाको भूमिका, युवासँग सांसद, दिगो पर्यटनको पहल प्रवर्द्धनमा युवा नेतृत्व एवं सफलताका कथा समेत गरी एक दर्जन बढी विषयगत प्रस्तुतिकरण एवं अन्तक्रियात्मक सेसन रहेको थियो।
सम्मेलनमा जीवन्त युवा सांस्कृतिक साँझसंगै स्थानीय एवं परम्परागत खाना, परिकारहरुको प्रदर्शनी र रैथाने बीउ विजनको प्रदर्शन साथै सहभागीले निर्माण गरेको प्रादेशिक कार्य योजना सम्मेलनको विशेष आकर्षण रहेको थियो ।
नेपाल युवा परिषदले सन् २०१२ मा स्थापना भएदेखि नै युवा उद्यमशीलता, दिगो विकास लक्ष्य, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, वातावरण, नेतृत्व विकास, मिडिया र डिजिटल साक्षरतामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। साथै, राष्ट्रिय र प्रादेशिक युवा सम्मेलनहरू मार्फत देशभरिका युवाहरूलाई सहभागी गराउँदै उनीहरूलाई नेतृत्वदायी भूमिकामा उभ्याउँदै आएको छ।