सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित
बैठकमा प्रधानमन्त्री दाहालले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको बताउँदै यस वर्ष त्यस्तो नहुने भनाई राखेका थिए।काठमाडौं, जेठ १५ : राष्ट्रिय योजना आयोगले सरकारको वार्षिक विकास कार्यक्रमसहित तीन वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो।
बैठकमा प्रधानमन्त्री दाहालले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको बताउँदै यस वर्ष त्यस्तो नहुने भनाई राखेका थिए।
नीति तथा कार्यक्रममा मिल्ने गरी जनमुखी बजेट निर्माणका लागि आफूले भनेको र सोही स्प्रिटमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको पनि उनले बताए।
आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनियोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमताअनुसार नै बजेट विनियोजन गर्नेगरी सुनिश्चित गरिएको छ।
बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्रीसहित, आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव बैकुण्ठ अर्याल, तथा आयोगका सदस्य र सदस्य सचिव लगायतको उपस्थिति थियो।