गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परि ४० जनाकाे मृत्यु
काठमाडौं, जेठ १४ः प्यालेष्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परि मृत्यु हुनेको संख्या ४० पुगेको गाजाको नागरिक सुरक्षा निकायले सोमबार जनाएको छ।
नागरिक सुरक्षा निकायका वरिष्ठ अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भने, ‘दक्षिणी गाजा पट्टीको राफाह शहरको उत्तरपश्चिममा रहेको शरणार्थी टेन्टमा इजरायली सेनाले गरेको अन्धाधुन्ध हवाइ फायरका कारण ४० जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्।’
‘हवाई आक्रमणपछि शिविरमा बस्दै आएका दर्जनौँ व्यक्तिको शरीर क्षतविक्षत र मृत अवस्थामा देखिएको साथै उल्लेख्य संख्यामा घाइते बालबालिका, महिला र वृद्धवृद्धा शिविरमा त्रसित अवस्थामा भेटिएका छन्,’ उनले भने।
शिविरमा इन्धनको अभावका कारण उद्धार गर्न ठूलो चुनौती आएको उनले बताए। आक्रमणले शिविरसम्म पुग्ने सडक पनि ध्वस्त बनाएकाले उद्धार गर्न थप गाह्रो भएको अल–मुघैरले बताएका छन्।