Kathmandu Press

नेप्सेमा ३.९३ अंकको सामान्य वृद्धि

नेप्सेमा ३.९३ अंकको सामान्य वृद्धि

काठमाडौं, जेठ १४ः यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ को विन्दुमा कायम भएको हो।

आज विभिन्न ३१७ कम्पनीको ९३ लाख ३० हजार दुई सय ९५ कित्ता शेयर ५८ हजार चार सय ८३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ८९ करोड ३७ लाख ६४ हजार एक सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बैंकिङ समूह ०.७४, होटल तथा पर्यटन समूह ०.४९ र निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

विकास बैंक समूह ०.६३, वित्त समूह १.४१, जलविद्युत् ०.२५, लगानी १.८० र जीवन बीमा समूह ०.४० प्रतिशतले बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.७८, लघुवित्त ०.४३, म्युचुअल फन्ड ०.४९, व्यापार ०.२२ र अन्य समूह ०.६४ प्रतिशतले बढेको छ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४० लाख ४७ हजार चार सय ३४ रुपैयाँ बराबरको तीन लाख ५५ हजार आठ सय ९५ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्