Kathmandu Press

बुढानीलकण्ठका मेयर अधिकारीलाई १ महिना कैद

व्यक्तिका नाममा जग्गाको चलन चलाइदिन गरेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको बिषयमा अधिकारीलाई अदालतको अवहेलनामा कारवाही भएको हो।
बुढानीलकण्ठका मेयर अधिकारीलाई १ महिना कैद

काठमाडौं, जेठ १२ : जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैदको फैसला सुनाएको छ।

अदालतमा पुगेको जग्गासम्वन्धी विवादमा अदालतले यस्तो सजाय सुनाएको हो। व्यक्तिका नाममा जग्गाको चलन चलाइदिन गरेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको बिषयमा अधिकारीलाई अदालतको अवहेलनामा कारवाही भएको हो।

Hardik ivf

न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई पनि १ महिना कैद हुने आदेश सुनाएको छ।

अदालतले उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा जनाइएको छ ।

‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन,’ आदेशमा उल्लेख छ ।

तर ६० दिनभित्र संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाइदिन र लागेको खर्च बुढानीलकण्ठ नगरपालिकाबाट असुल गर्न समेत भनिएको छ।

जिल्ला अदालतले २०८० साल मंसिर १७ गते जग्गा विवादमा नगरपालिकाको विपक्षमा फैसला सुनाएको थियो । उक्त जग्गा सय दिनभित्र व्यक्तिलाई उपयोग गर्न दिनका लागि अदालतले गरेको फैसलामा अटेरी भएको भन्दै निवेदक चन्द्रबहादुर थापाले निवेदन दिएका थिए।

गत जेठ ११ गते भएको आदेशमा उल्लेख छ, ‘यस अदालतको फैसला माथिल्लो अदालतबाट बदर नभएसम्म सो फैसला अक्षरशः कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यसमा पनि नगरपालिकाजस्तो राज्य शक्तिको प्रयोग गर्ने नियकाले यो वा त्यो वहानामा अदालतको फैसलालाई अन्यथा हुने गरी काम व्यवहार गर्न मिल्दैन्।’

प्रकाशित मिति: १९:२९ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्