भेरीगंगाका प्रमुख प्रशासकीय अधिकृतसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
आयोगले पौडेलसहितका प्रतिबादीविरुद्ध आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ।
काठमाडौं, जेठ १२ : सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहितका प्रतिबादीविरुद्ध आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ।
अख्तियारले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पौडेलसँगै तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा, इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनारविरुद्ध भ्रष्टाचारको अभियोग लगाएको छ।
अख्तियारले जनाए अनुसार अनुसन्धानबाट विभिन्न फर्महरुसँग मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गरिएको, अधिकतम कबोल मूल्य घटाउने, सम्झौता गर्न नआएको फर्मको धरौटी जफत नगरी अन्य ठेक्काको अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्ने जस्ता चलखेलका कार्य भएको देखिएको छ।
उक्त कार्यबाट ३६ लाख ७८ हजार पाँच सय ४३ रुपैयाँ राजस्व हानीनोक्सानी भएको दाबी गरिएको छ।












