दुई वर्ष नपुग्दै विश्वासको मत लिनु व्यवस्थाको बरखिलाफ हो : झाँक्री
उनले दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको भएपनि व्यवस्थामाथि नै बरखिलाफ गर्दै पाँच पटक विश्वासको मत लिइएको बताइन्।
काठमाडौं, जेठ १३ : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँच पटक विश्वासको मत लिनु व्यवस्थाको बरखिलाफ भएको बताएकी छन्।
आइतबार संघीय गणतन्त्र शासनसम्बन्धी संवाद कार्यक्रममा उनले दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको भएपनि व्यवस्थामाथि नै बरखिलाफ गर्दै पाँच पटक विश्वासको मत लिइएको बताइन्।
‘प्रणालीगत हिसाबले स्थायित्व खोज्दै गर्दा पनि दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँच पटक विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भने संविधानमा दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको व्यवस्थाको बरखिलाफ भएको छ,’ नेतृ झाँक्रीले भनिन्।
सहकारी सहकार्यमा सामुहिक लगानी गर्ने प्रणाली भएको भन्दै कसैले जनताको बचत अपचलन गर्छ भने त्यो आर्थिक अपराध भएको बताइन्।
‘हामीले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा मान्यौं । सहकारीमा सहकार्य गर्ने सदस्यहरुको पुँजी निर्माण गर्ने, पुँजीलाई जम्मा गर्ने, सामूहिक लगानी गर्ने प्रणाली हो,’ उनले भने, ‘र सहकारी सुशासनमा आधारित हुन्छ । जुन मान्छे सहकारीको सदस्य छैन, किर्ते गरेर १० वा हजार कित्ता सेयर ल्याएर जनताको बचत अपचलन गर्छ भने यो आर्थिक अपराध हो।’
वर्तमान देशमा उठाएको राजस्वभन्दा खर्च गर्ने भार ठूलो भएको भन्दै गुणात्मक परिवर्तनको लागि प्रत्येक मानिसले राज्य निर्माणमा योगदान गर्नुपर्ने बताइन्।












