संसद्को गतिरोध अन्त्यका लागि नेकपा एसको ध्यानाकर्षण
ध्यानाकर्षण पत्रमा संसद्को गतिरोध अन्त्यका लागि छलफल र सार्थक संवादको माध्यमबाट प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने, नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्नुपर्नेलगायत विषय उल्लेख छन्।
काठमाडौं, जेठ १३ : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर संसद्.मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो।
ध्यानाकर्षण पत्रमा संसद्को गतिरोध अन्त्यका लागि छलफल र सार्थक संवादको माध्यमबाट प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने, नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्नुपर्नेलगायत विषय उल्लेख छन्।
“संसद् जनताका सबैप्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो। त्यसैले संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्रीले सार्थक संवाद तथा छलफलसहित विपक्षीलाई विश्वासमा लिएर अगाडि बढ्ने विश्वास हाम्रो पार्टीको विश्वास छ’, पत्रमा भनिएको छ।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित अन्य प्रतिपक्षी दलसँग तत्काल सार्थक छलफल र वार्ताद्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउन आफूले पहल गरिरहेको र चाँडै संसद्का नियमित कामकारबाही अगाडि बढ्ने बताएका थिए।
अध्यक्ष नेपालले संसद्को गतिरोध अन्त्य गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहलकदमीको अपेक्षा गर्दै पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सम्पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।












