शीर्ष नेताहरुको झगडाले व्यवस्थाप्रति आलोचना बढ्यो : नेता पौडेल
‘संघीय गणतन्त्र खतरामा होइन आलोचनामा छ र खतरामा आउँदैन। मलाई विश्वास छ,’ उनले भने, ‘यति सजिलै ७० वर्षसम्म नेपाली जनताका छोराछोरीले लडेर ल्याएको गणतन्त्र दुई चारजना आलोचना गर्ने मानिसहरु सडकमा आउँदैमा खतरामा आउँदैन।’
काठमाडौं, जेठ १३ : नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले शीर्ष नेतृत्वको झगडाको बीचमा पछिल्लो पुस्ताका नेताहरु पिल्सिएको बताएका छन्।
आइतबार काठमाडौंमा परिवर्तन नपालले आयोजना गरेको ‘संघीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समीक्षाः आगामी कार्यभार’ विषायक अन्तरक्रियामा उनले समयमै सक्ने जति काम पनि गर्न नसकिएको स्पष्ट पारेका छन्।
अहिलेको व्यवस्था कुनै खतरामा नरहेको तर नेताहरुकै कारण आलोचित बनेको उनले बताए।
‘संघीय गणतन्त्र खतरामा होइन आलोचनामा छ र खतरामा आउँदैन। मलाई विश्वास छ,’ उनले भने, ‘यति सजिलै ७० वर्षसम्म नेपाली जनताका छोराछोरीले लडेर ल्याएको गणतन्त्र दुई चारजना आलोचना गर्ने मानिसहरु सडकमा आउँदैमा खतरामा आउँदैन।’
पौडेलले व्यवस्थाप्रति आलोचना गरेर अस्थिरता सिर्जना गर्न खोज्नेहरुका विरुद्ध अवस्था आए एमाले, माओवादी,कांग्रेस एक ठाउँमा उभिने दाबी गरे।
आफूहरु भन्दा अघिल्ला पुस्ताका नेताहरुले झगडामै महत्वपूर्ण समय विताएका कारण पछिल्लो १० वर्षमा काम गर्न नसकेको टिप्पणी गरे।
सदन र सरकारका कामको चौतर्फी आलोचना भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसो हुनुमा शीर्ष नेताहरुले आफ्नो झगडा नछोड्दा सदन र सरकारको कामकारबाही प्रभावित भएको औंल्याए।