महाधिवेशनसम्बन्धी दस्तावेज सबै जिल्ला पठाउँदै नेकपा एस
महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजलाई थप समृद्ध बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्।
काठमाडौं, जेठ १३ : नेकपा एकीकृत समाजवादीले १०औं राष्ट्रिय महाधिवेशनका लागि तयार गरेको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने भएको छ।
महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजलाई थप समृद्ध बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्।
कम्युनिष्ट पार्टी स्थापनाको करिब ७५ वर्षको अनुभवमा आधारित भएर पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, शोषण र उत्पीडन, सैनिक, जातीय, भाषिक र सामाजिक विभेदका साथै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरी राजनीतिक दस्तावेज तयार पारेका हुन्।
सम्मानित नेता झलनाथ खनालले देशको समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तरविरोधहरूको विश्लेषण गरी समाजवादी दस्तावेज तयार पारेका छन्।
उपाध्यक्ष बेदुराम भुसालले तयार पार्नुभएको विधान दस्तावेजमा प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने, युवा सहभागिता वृद्धि गर्नेलगायतका विषय उल्लेख गरिएको छ। महासचिव घनश्याम भुसालले तयार पारेको संगठनात्मक दस्तावेजमा पार्टीको देशभरको अवस्था, आगामी कार्यक्रमको रणनीतिबारे प्रष्ट पारिएको छ।
चारवटा प्रतिवेदनलाई सबै तहका कमिटीबाट छलफलपछि प्राप्त निष्कर्षका आधारमा त्यसलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन दिएको छ।
पार्टीको नयाँ र पुरानो सङ्गठित सदस्यको सदस्यता नामावली विवरण अद्यावधिक गरिएको छ। आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाइएको छ।












