अवरोध नहटे संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारी
केहीगरी प्रतिपक्षी दल सहमत नभएर अवरोध जारी रहने परिस्थिति देखियो भने बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्रीको रणनीति रहेको बताइन्छ।
काठमाडौं, जेठ ११ : प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला दलका नेतासँग छलफल सुरु गरेका छन्।
केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका नेताहरुसँग प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ ।
एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेल बालुवाटारमा जम्मा भएका छन् ।
प्रधानमन्त्रीले एमाले, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग छलफल गरेर संसदमा जारी अवरोध खुलाउने विकल्प खोज्न लागेका बताइएको छ।
प्रतिपक्षी कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसदमा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा शीर्ष नेतासँग छलफल गरेपछि सहज अवस्था हुने प्रधानमन्त्रीले अपेक्षा गरेको थाहा भएको छ।
प्रधानमन्त्रीले आजै बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका थिए । उनले संसदको जारी अवरोधले सरकार नीति तथा कार्यक्रम पारित गर्न असमर्थ भैरहेको राष्ट्रपतिसँग चर्चा गरेका थिए।
यही अवस्था जारी रहे नयाँ बजेट संसदमा प्रस्तुत गर्न सम्भव नहुने तर्फ पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अवगत गराएको बताइएको छ।
संसदको बैठक आज पनि अवरुद्ध भएपछि १३ गतेलाई अर्को बैठकको मिति तोकिएको छ। त्यतिबेलासम्म प्रतिपक्षी दलसँग सहमति बनेर संसद निर्वाध अघि बढ्नसक्ने अवस्था आयो भने सरकार नीति तथा कार्यक्रम पारित गराएर बजेट घोषणाको अन्तिम तयारीमा लाग्ने देखिएको छ।
केहीगरी प्रतिपक्षी दल सहमत नभएर अवरोध जारी रहने परिस्थिति देखियो भने बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्रीको रणनीति रहेको बताइन्छ।
यही कारणले राष्ट्रपतिसँग परामर्श गरेपछि प्रधानमन्त्रीले दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन्।












