बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२५६८औं बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आयोजित विशेष समारोहमा उनले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरमा सरकारले पहल गरिरहेको बताए।
लुम्बिनी, जेठ १० : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने बताएका छन्।
२५६८औं बुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आयोजित विशेष समारोहमा उनले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रियस्तरमा सरकारले पहल गरिरहेको बताए।
कार्यक्रमका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बृहत्तर लुम्बिनीको गुरुयोजना शीघ्र सफल बनाउने बताउँदै अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन सञ्चालन गर्ने कुरामा जोड दिए।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विश्वकै बौद्ध धर्मावलम्बीको एक पवित्र ठाउँ, एसियाका ज्योतिका रूपमा परिचित विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी क्षेत्र हुनु प्रदेशका लागि ठूलो गौरवको विषय भएको बताए। उनले धार्मिक पर्यटनको माध्यमबाट यस क्षेत्रमा मात्रै आयआर्जन बढाउन सकिने उल्लेख गरे।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुद्धजन्मस्थल लुम्बिनी बौद्ध धर्मालम्बीका लागि मात्र नभएर सारा मानवजातिको लागि भएको बताए।
संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि हाना सिंगगर ह्याम्डीले बुद्धजन्मस्थल लुम्बिनी बुद्धदर्शन फैलाउने उर्वर भूमिको रूपमा रहेको बताउँदै विश्व शान्तिको कामना गरे। नेपालका लागि श्रीलंकाका राजदूत एयर चिफ मार्सल सुर्दशना पाथिरानाले बुद्धदर्शन विश्व शान्तिको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।












