सिरोहिया पक्राउको पक्षमा रास्वपा
कानुनभन्दा माथि कोही पनि नभएको बताउँदै उनले जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कानुनको पालना गर्नैपर्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित भएको बताएका छन्।
काठमाडौं, जेठ ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभिएको छ।
रास्व्पा महामन्त्री डा. मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताउकमा छन्।
सिरोहिया पक्राउ परेको घटनाको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउने रास्वपाको तर्क छ।
‘धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ,’
महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक(अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं।’
कानुनभन्दा माथि कोही पनि नभएको बताउँदै उनले जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कानुनको पालना गर्नैपर्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित भएको बताएका छन्।
‘विधिको शासनको अर्को सौन्दर्य हो : कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो,’ विज्ञिप्तमा भनिएको छ, ‘कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ।’
लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति उच्च सम्मान भएको उल्लेख गर्दै रास्वपाले एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा स्वीकार्यन हुने बताएको छ।
रास्वपाले नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको बताएको छ। उसले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिँदा प्रेस स्वतन्त्रताको हनन नहुने पनि उल्लेख गरेको छ।
‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन। यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस्।’












