पत्रकार महासंघले भन्यो– सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण
कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने बताएका छन्।
काठमाडौं, जेड ८ : नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण भएको जनाएको छ।
महासंघले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि भएको जनाएको छ।
‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ महासचिव रोशन पुरीद्वारा विज्ञप्तिमा भनिएको ।
कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने बताएका छन्।
घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्य–तथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघले जनाएको छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न सरकारसँग माग पनि गरेको छ।












