काठमाडौं महानगरले सुरु गर्यो ‘न्याय चौतारी’, चौतारीमै विवाद मिलाइने
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, चौतारीमा सरोकारवाला पक्ष बसेर गरिएको छलफल, न्यायमा जित र हारको होइन, दुवै पक्षको लाभमा केन्द्रीत हुने बताइन्।काठमाडौं, जेठ ८ : स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौं महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ।
वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो। चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन भने चौतारीको उपयोगिता के हो भन्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, चौतारीमा सरोकारवाला पक्ष बसेर गरिएको छलफल, न्यायमा जित र हारको होइन, दुवै पक्षको लाभमा केन्द्रीत हुने बताइन्।
‘न्यायमा हारेर कसैले पीडा बोध गर्नु नपरोस् । झगडाका कारण समय र सम्पत्ति खर्च गर्नु नपरोस् । विवादमा अल्झिएर जीवन समस्यामा नपरोस्, भनेर हामीले न्यायलाई नागरिकको आँगनमै पु¥याउन कार्यक्रम आयोजना गरिएको हो’ उनले भनिन, ‘आदर्श समाजको कल्पना गरौँ। जहाँ विवाद नै नहोस्। विवाद भएर अड्डा अदालत जानुभन्दा हाम्रा प्रचलित सामाजिक व्यवस्थाअनुरुप समाधान गरौँ यसैमा सबैको भलो छ ।’
हिंसा के हो, भन्ने चेतना नभएका कारण व्यक्ति अन्यायमा परिरहेको हुनसक्ने बताउँदै उनले न्याय चौतारीले कानुनी व्यवस्थाका बारेमा जानकारी दिने बताए।
सामाजिक मान्यताका प्रसङ्ग उठाउँदै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले ठूलो रुखको मुनि बस्दा एकसरो पानी छेकिने भनाइमा बिम्ब रहेको बताए।
वडामा हुने मेलमिलापका कामलाई न्याय चौतारीले अझ सहज र सरल बनाउन सहयोग गर्ने न्यायिक समितिकी सदस्य एवं वडा महिला सञ्जालकी संयोजक आशा श्रेष्ठ रौनियारले धारणा राखिन।
आफ्ना टोलका समस्याका बारेमा आफ्नै टोलमा छलफल गर्ने संस्कार विकास गर्न चौतारी संरचना निर्माण गर्ने, भएका चौतारीलाई संरक्षण गरेर छलफल चलाउने वडाको योजना छ।