राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता, एक मतको अपमान
-1716280852.jpeg)
काठमाडौं, जेठ ८ : सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ।
मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा वेल घेरेर प्रमुख प्रतिपक्षी दल नारा लगाईरहेको थियो । त्यही समयमा सरकारले विधेयक फिर्ता लिएको हो।
सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० सभामा पेश गर्न समय दिए। त्यसपछि मर्यादापालकको सुरक्षा घेरामा उभिएर गृहमन्त्री लामिछानेले सो विधेयक पेश गरे।
त्यसपछि सभामुखले विधेयक फिर्ता लिने प्रस्तावमा कसैको विरोधको सूचना नपरेको उल्लेख गर्दै बहुमतले विधेयक फिर्ता लिन समर्थन गरेको घोषणा गरेपछि विधेयक फिर्ता भयो।
तर, सो विधेयकबारे सभामुखले सांसदहरुको ध्यानाकर्षण गराउँदा सदनमा प्रतिपक्षी बेञ्चमा बसेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र हात उठाएर असहमति जनाएका थिए।
त्यसक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेस सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले पनि उठेर विरोध गरिरहँदा सत्तारुढ सांसदहरु मात्र आआफ्नो सिटमा बसेका थिए। तर, सभामुख घिमिरेले विधेयकको विपक्षमा विरोधको मत नआएको भन्दै बहुमतले विधेयक फिर्ता लिएको घोषणा गरे।
असहमति जनाउने एकजना सांसदको मतको गणना गरिएन।












