Kathmandu Press

संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक जारी

मंगलबार बिहान फेरि बैठक बोलाइएका कारण आफूहरु छलफलमा सहभागी भएको र पुरानै अडान कायम रहेको कांग्रेस सहमहामन्त्री परियारले बताए। 
संसदीय छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं, जेठ ८ : सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न गठित कार्यदलको बैठक सुरू भएको छ। 

सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी छन्। 

Hardik ivf

सोमबार नै कार्यदलको बैठक बसेर छलफल गर्ने तयारी भएपनि बैठक बस्न सकेको थिएन। मंगलबार बिहान फेरि बैठक बोलाइएका कारण आफूहरु छलफलमा सहभागी भएको र पुरानै अडान कायम रहेको कांग्रेस सहमहामन्त्री परियारले बताए। 

‘हिजै बस्ने भनिएको थियो । तर हिजो उहाँहरुले नै बैठक स्थगित गर्नुभयो । फेरि आज बोलाउनुभयो,’ उनले भने, ‘हाम्रो अडान उही हो। उहाँहरुले भनेजस्तो सामान्य छानबिन समिति गठन गर्ने कुरा होइन । देशको गृहमन्त्रीले ठगी गरेको आरोप लागेको छ, त्यसकारण उहाँको नाम तोकेर नै छानबिन गर्ने हो ।’

सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबित समिति गठन गर्ने सहमति भएपनि त्यो समितिको कार्यादेशमा गृहमन्त्रीको नाम समावेश गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद छ। 

संसदीय समिति गठनका विषयमा सहमति नभए आज पनि कांग्रेसले संसद्का दुवै सदनको बैठकमा अवरोध गर्ने जनाएको छ। 

कांग्रेसले यही माग राखेर बजेट अधिवेशन सुरु भएयताका सबै बैठकहरुमा अवरोध गर्दै आएको छ। तर सोमबार भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षीको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए। 

प्रकाशित मिति: १०:२७ बजे, मंगलबार, जेठ ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्