Kathmandu Press

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

ताप्लेजुङ, जेठ ७ः ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडको उपाधि त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले जितेका छन्। श्रेष्ठले फुङलिङ–पाथीभरा ४८ किलोमिटरको निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेन्डमा पूरा गर्दै प्रथम भएका हुन्।

प्रथम भएका श्रेष्ठले एक लाख ५१ हजार एक सय ११ रुपैयाँसहित प्रमाणपत्र पाएका छन्। यस्तै, त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार दोस्रो भएका छन्। उनले निर्धारित दूरी चार घण्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए। उनले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे।

Hardik ivf

तृतीय भएका आर्मीकै प्रताप थाम्सुहाङले चार घण्टा १३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरे। उनलाई ५१ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ। पाथीभरा खुला म्याराथनमा ११४ जना धावक सहभागी भएका थिए।

महिला हाफ म्याराथनतर्फको स्पर्धामा पनि आर्मी क्लबकै खेलाडी विजेता भए। विजेता बनेकी सुनसरी रोकायाले सदरमुकाम–काफ्लेपाटी ३९ किलोमिटरको निर्धारित दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पूरा गरेकी थिइन्।

यस्तै, फुङलिङ–६ की कुमारी गुरुङ चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भइन् भने मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी विनिता तामाङ चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन्। महिलातर्फका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ८१ हजार एक सय ११, ५१ हजार एक सय ११ र ३१ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

महिला हाफ म्याराथन दौडमा ४७ धावक सहभागी भएको पाथीभरा म्याराथन दौड व्यवस्थापन उपसमितिका संयोजक विनोद भारतीले जानकारी दिए। यही जेठ ३ गतेदेखि सुरु भएको ताप्लेजुङ महोत्सव आज सम्पन्न भएको छ। महोत्सवअन्तर्गत डोको क्यारी रन, अन्तरपालिकास्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगितासहितका खेलकुद भएका छन् भने पाथीभरा साइकल यात्रासमेत सम्पन्न भएको छ।

जिल्लाको पर्यटन प्रवर्द्धन र विकासका लागि आयोजित महोत्सवमा घरेलु औद्योगिक कृषि प्रदर्शनी, विभिन्न जातीय समुदायका खाद्य परिकारका कक्ष राखिएका थिए। महोत्सवमा हरेक दिन सांस्कृतिक तथा सांगितिक कार्यक्रम गरिएका थिए। आइतबार गायक प्रताप दाससहितका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए भने आज समापनको दिन गायिका रचना रिमालको प्रस्तुति रहेको थियो।

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, जेठ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्