संसदीय समितिको टीओआरमा सहमति जुटाउन फेरि बस्यो कार्यदलको बैठक
कार्यादेशमा सहकारीको रकम अपचलमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा सहमति नभएपछि कार्यदलको बिहानको बैठक स्थगित भएको थियो। करिब ५ घण्टा लामो छलफलमा पनि सहमति हुन सकेको थिएन।
काठमाडौं, जेठ ६ : सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश बनाउन गठन भएको कार्यदलको बैठक फेरि सुरु भएको छ। कार्यदलको बैठक केहीबेर अघिबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो।
कार्यादेशमा सहकारीको रकम अपचलमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा सहमति नभएपछि कार्यदलको बिहानको बैठक स्थगित भएको थियो। करिब ५ घण्टा लामो छलफलमा पनि सहमति हुन सकेको थिएन।
दलहरूबीच कार्यादेशमा सहमति नहुँदा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरू हुन सकेको छैन। दिउँसो २ बजेका लागि प्रतिनिधि सभा बैठक सारिएको थियो।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समितिका कार्यादेश टुंगो नलगाई सदनका कार्यसूचीमा प्रवेश गर्ने अवस्था छैन। कांग्रेसले गृहमन्त्रीको नाम, ठगीमा परेका सहकारीका नाम पनि उल्लेख गरिनुपर्ने विषय राखेको छ भने एमाले र रास्वपाले व्यक्ति नतोक्न अडान लिइरहेका छन्।