अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारी भइरहेकाे छ : मन्त्री चाैधरी
मन्त्रालयले नयाँ योजना, नयाँ कार्यक्रमहरू अगाडि बढाउँदै आइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धि सम्झौताहरूमा समेटिएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको पक्षमा काम गर्ने सन्दर्भमा सरकार जिम्मेवार रहेको विश्वास दिलाइन्।-1716107964.jpeg)
सुनसरी, जेठ ६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउनेगरी तयारी गरिरहेको बताएकी छिन्।
आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा बढी भन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको बताइन्।
‘हामी आफैंले पनि अपाङ्गता भएका व्यक्तिहरूका निम्ति विशेष निगरानीका साथ काम अगाडि बढाइरहेका छौं,’ उनले भनिन्, ‘देशभका अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गराउने लक्ष्य लिएका छौं। त्यसो गर्न सकेमा धेरै राम्रो हुन्छ भन्ने उद्देश्यले हामीले पहल गर्दै आएका छौं।’
मन्त्रालयले नयाँ योजना, नयाँ कार्यक्रमहरू अगाडि बढाउँदै आइरहेको भन्दै उनले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धि सम्झौताहरूमा समेटिएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको पक्षमा काम गर्ने सन्दर्भमा सरकार जिम्मेवार रहेको विश्वास दिलाइन्।
मन्त्रालयले नयाँ कार्यक्रमका रूपमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ ल्याएको भन्दै मन्त्री चौधरीले विपन्न परिवारका छोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको स्पष्ट पारिन्।
आउँदो आर्थिक वर्षमा पाइलट प्रोजेक्टका रूपमा केही ठाउँबाट सुरु गरिने मन्त्री चौधरीले भनाइ छ। मन्त्री चौधरीले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण गर्ने विषय अहिले जोडतोडले उठेको भन्दै त्यसलाई समाधान गर्न अहिले केही व्यक्तिलाई सहयोग उपलब्ध गराउने तयारी भइरहेको बताइन्।












