Kathmandu Press

ट्राफिक प्रहरीको हत्या आरोपमा भाग्न खोजेपछि हवाई फायर गरेर ७ जना पक्राउ

उनीहरू सबै बालाजु, जरंखु, मनमैजु लगायतका क्षेत्रमा सडकपेटीमा निर्माणाधिन घरहरूमा आश्रय बनाइ बस्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीको हत्या आरोपमा भाग्न खोजेपछि हवाई फायर गरेर ७ जना पक्राउ

काठमाडौं, जेठ ६ः काठमाडौँको तारकेश्वर–९ स्थित मनमैजुमा मृत फेला परेका ट्राफिक प्रहरी जवान युवराज घिमिरे हत्या अरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। 

काठमाडौँ महानगरपालिका–१६ स्थित अष्टनारायण हल पछाडि र बालाजु २२ धाराको जंगलबाट भाग्न लागेको अवस्थामा प्रहरीले हवाई फायर गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

Hardik ivf

पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधिखोला गाउँपालिका–३ की २१ वर्षीय बिपनारबसन्ती भनिने बसुन्धारा कार्की, स्याङ्जा आँधिखोला गाउँपालिका–३ कै ५६ वर्षीय नुनमाया कार्की छन्। 

यस्तै, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षी बालक रहेको प्रहरीले जनाएको छ। प्रहरीले बालकको नाम खुलाएको छैन।

उनीहरू सबै बालाजु, जरंखु, मनमैजु लगायतका क्षेत्रमा सडकपेटीमा निर्माणाधिन घरहरूमा आश्रय बनाइ बस्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

घिमिरेको शव शुक्रबार तारकेश्वर नगरपालिका–९, मनमैजुमा भेटिएको थियो। गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरे त्यसयता कार्यालय फर्किएका थिएनन्।

शुक्रबार अपराह्न स्थानीयले खबर गरेपछि प्रहरीले घिमिरेको शव घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल लगेको थियो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरे सामाखुसीमा डेरा गरी बस्थे।
 

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, जेठ ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्