संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा
देशभित्र आर्थिक संकट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकठाउँमा आउन उनले आग्रह गरे।
काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्न नहुने बताएका छन्।
कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा उनले देशभित्र राजनीतिक संकटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रुपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए।
देशभित्र आर्थिक संकट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एकठाउँमा आउन उनले आग्रह गरे।
‘देशमा राजनीतिक संकट छैन। राजनीतिक संकट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ। ति संकटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौं। काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा भनेको आर्थिक र सामाजिक रुपान्तरण नै हो। त्यसका लागि हामी एकमत हुन आवश्यक छ।’
विमोचित पुस्तकले देशको आर्थिक र सामाजिक अवस्थाको चित्रण गरेको शर्माले उल्लेख गरे। राजनीतिक व्यक्तित्वलाई लेखन र साहित्यको अभ्यासले सरल मान्छे बन्न सहयोग गर्ने धारणा राख्दै महामन्त्री शर्माले राजनीतिक व्यक्तिले अध्ययनशील बन्न र लेखन अभ्यास गर्न जोड दिनुपर्ने बताए।









![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)


