‘खेलकुदको क्षेत्र व्यक्ति होइन नीतिले चल्नुपर्छ’
‘आज भएको व्यक्ति भोलि नरहला, त्यसकारण व्यक्तिमा भर पर्न थाल्यो भने जग दरो हुँदैन, नीति दरो हुनुपर्छ। खेलको ऐनको हामी पुर्वसन्ध्यामा छांै र सुझाव संकलनको काम भइरहेको छ।’काठमाडौं, जेठ ५ : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मुलुकको खेलकुद क्षेत्र व्यक्ति नभइ नीतिले निर्देशित हुनुपर्ने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले नीति नबनाइ एउटा व्यक्तिले चाहेरमात्रै खेल क्षेत्रको विकास सम्भव नहुने बताए ।
‘व्यक्तिले खेल कहिले पनि विकास हुँदैन, विधि, नीति र ऐनले मात्र यो विकास हुन सक्छ,’ उनले भने, ‘आज भएको व्यक्ति भोलि नरहला, त्यसकारण व्यक्तिमा भर पर्न थाल्यो भने जग दरो हुँदैन, नीति दरो हुनुपर्छ। खेलको ऐनको हामी पुर्वसन्ध्यामा छांै र सुझाव संकलनको काम भइरहेको छ।’
खेललाई प्राज्ञिक र व्यवसायिकतातिर लैजानुपर्ने उनले बताए। ‘राज्य र पूर्वाधारले मात्र त्यो सम्भव छैन । त्यसको लागि अब हामीले काठमाडौं विश्वविद्यालयसँग एउटा सम्झौता गरेका छौ,’ ‘जहाँ तपाईहरुले खेल विज्ञान सम्बन्धी ६ महिनाको कोर्ष लिन सकिन्छ । सबै जना विज्ञानमा जनु पछर्, नत्र खेल माथि आउन गाह्रो हुन्छ।’
खेललाई पाठ्यक्रममा पनि लैजाने प्रयास गरिएको उनले बताए । ३० वर्षपछि प्रशिक्षकहरुलाई हरेक विद्यालयमा प्रशिक्षककै रुपमा काम गर्न पाउने नीतिबाट नै गर्ने उनले बताए।
खेलकुद क्षेत्रमा भएको बेथिति हटाउन पहल सुरु भइरहेको बताएका उनले सबै मिलेर काम गर्नुपर्ने बताए।
‘म पनि पहिला यो देशको बेथिति कोही गएर समाधान गरे हुन्थ्यो, सरकारले गरे हुन्थ्यो भन्ने सोच राख्थेँ तर त्यो कोहीमा म पनि पर्छु, तपाईहरु सबै पर्नु हुन्छ । सबैले आफ्नो स्थानबाट प्रयास गर्ने हो भने केही सुधार हुन्छ,’ उनले भने।