सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
प्रतिपक्षी दल नेपाली कांग्रेसले संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालु अधिवेशन अन्त्य गरेकाले यस कार्यले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको जनाएको छ।
कैलाली, जेठ ५ : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन कुनै पनि विधेयक पारित नगरी शुक्रबार राति १२ बजेबाट अन्त्य भएको छ।
गत माघ ५ गते प्रारम्भ भएको यो अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चार वटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिनेबाहेक अन्य काम नभएको बताए। ‘यो अधिवेशनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने, विश्वासको मत फिर्ता लिनेजस्ता कामबाहेक विधेयक पारित गर्नेमा कुनै पनि काम हुन सकेन,’ उनले भने।
यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बावजूत मुख्यमन्त्री दीर्घ सोडारीको विश्वासको मत पाएका थिए।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा जबरजस्ती कारबाही अघि बढाइएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
यसैबीच प्रतिपक्षी दल नेपाली कांग्रेसले संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालु अधिवेशन अन्त्य गरेकाले यस कार्यले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको जनाएको छ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गरी अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध गरे।
प्रदेशसभाको बैठक सञ्चालनमा दलहरूबीच सहमति जुट्न नसक्दा शुक्रबार अपराह्न बोलाइएको बैठक स्थगित गरिएको थियो। लगत्तै प्रदेश प्रमुखको कार्यालयबाट चालु अधिवेशन पनि अन्त्य गरिएको हो।