Kathmandu Press

गृहमन्त्रीलाई बाटो खुलाउन ओली उठेपछि...

कांग्रेस सांसद धनराज गुरुङ र एमाले अध्यक्ष ओलीबीच भनाभन जस्तो अवस्था आयो र एमालेका अरु सांसदहरु पनि अगाडि आएर ओलीको प्रतिरक्षा गरेर उनलाई घेरेर उभिए।
गृहमन्त्रीलाई बाटो खुलाउन ओली उठेपछि...

काठमाडौं, जेठ ३ : प्रमुख प्रतिपक्षको वेल घेराउ र नाराबाजी चलिरहेकै बेलामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र वाचन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि तनाव उत्पन्न भएर प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुखले जानकारी गराएका छन्।

गृहमन्त्रीलाई बोल्न समय दिएको घोषणा हुनेबित्तिकै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले उनलाई रोक्न बाटो छेकेका थिए। अग्रस्थानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली जुरुक्क उठेर ‘गृहमन्त्रीलाई बाटो छोेडिदिन’ नारा लगाइरहेका सांसदलाई आग्रह गर्दैथिए । तर उनीहरुले बाटो नछाड्ने अडान लिँदै नाराबाजी गरि नै रहे।

Hardik ivf

त्यहीबीच कांग्रेस सांसद धनराज गुरुङ र एमाले अध्यक्ष ओलीबीच भनाभन जस्तो अवस्था आयो र एमालेका अरु सांसदहरु पनि अगाडि आएर ओलीको प्रतिरक्षा गरेर उनलाई घेरेर उभिए।

धकेलाधकेलको अवस्था उत्पन्न भएपछि सभामुखले गृहमन्त्रीलाई आसनग्रहण गर्न निर्देशन दिँदै आजको कार्यसूचीका सबै विषय हटाएको सूचित गर्दै बैठक स्थगित भएको घोषणा गरेर उठेर कार्यकक्षतिर गए । त्यसपछि भनाभनको शैलीमा संवाद गरिरहेका सांसदहरु एकअर्कालाई थामथुम पार्दै हात मिलाउन थाले।

बिहान बस्ने कार्यसूची भएको बैठक अपरान्ह ४ बजेलाई सरेको भए पनि ५ बज्नैलाग्दा मात्र सुरु भएको थियो।

पत्र पढ्दै गरेका सभामुखले नाराबाजीबीच केहीबेर कुनै पनि शब्द उच्चारण नगरी आसनमा बसिरहे। केहीबेरको मौनतापछि फेरि अर्को पत्र पढ्न थाल्दै भने, ‘माननीय सदस्यहरु, म अब अर्को पत्र पढेर सुनाउँछु र बुझिनेगरी पढेर सुनाउँछु ।’

सभामुखको यो शैलीले विपक्षी सांसदहरुलाई अझ उत्तेजित हुन प्रेरित गरिरहेको देखिन्थ्यो । गृहमन्त्रीलाई बोल्न समय दिएको घोषणा गरिरहँदा पनि सभामुखको अभिव्यक्ति सन्तुलित नभएको प्रष्ट आभास भएको थियो।

सहकारीको वचत अवैध अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएकोमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरोध गर्दै आएको छ। आज अपरान्हको बैठक यही विषयले निकै तनावपूर्ण भयो।

प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्