Kathmandu Press

निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, ३: जेठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

आज नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उनले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिएका हुन् ।

Hardik ivf

पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा आफ्नो सहयोग रहने र कर्मचारीले आफ्नो दायित्व परिपालनामा सचेत रहन आग्रहसमेत गरे ।

'निगमको हितमा हुने हरेक काममा म तपाईंहरूसँगै छु । तपाईँहरूले पनि आफ्नो विभाग र आफूले गर्नुपर्ने कार्यमा दत्तचित्त भएर लाग्नुहोला । ढिलासुस्ती र निगमलाई नोक्सानी हुने कुरामा सचेत रहनुहोला', उनले भने ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले निगमको प्रगतिका लागि सबै कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने र मन्त्रालयस्तरबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । 

यसैबीच मन्त्री तामाङले निगमको चालु आव २०८०/८१ को समीक्षा र आगामी आव २०८१/८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटनसमेत गरेको निगमले जनाएको छ । बैठकमा निगमका कार्यकारी अध्यक्षलगायत नायब महाप्रबन्धक (प्रा), निगमका सम्पूर्ण विभागीय प्रमुख, निगमका दसवटै अन्तर्राष्ट्रिय स्टेशनका प्रमुख, सम्बन्धित महाशाखा तथा शाखा प्रमुख र निगममा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए भने बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहालले निगमको बजारस्थिति र बजारीकरणको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।

भोलि शुक्रबारसम्म चल्ने बैठकले निगमको आगामी योजना, कार्यक्रम र बजेट तयार गर्ने जनाइएको छ । 

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, जेठ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्