जलविद्युत र रेलमार्ग सरकारकाे प्राथमिकतामा
सरकारले जयनगर–बर्दिवास रेलमार्गको विजयपुरा–बर्दिबास खण्ड तथा बथनाहा–विराटनगर रेलमार्गको निर्माणलाई तीव्रता दिने समेत नीति कार्यक्रममा उल्लेख गरेको छ।काठमाडौं, जेठ १ : सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा जलविद्युत र रेलमार्गलाई प्राथमिकतामा राखेको छ। पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माण शीघ्र सम्पन्न गर्ने घोषणा गरिएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो। सरकारले जयनगर–बर्दिवास रेलमार्गको विजयपुरा–बर्दिबास खण्ड तथा बथनाहा–विराटनगर रेलमार्गको निर्माणलाई तीव्रता दिने समेत नीति कार्यक्रममा उल्लेख गरेको छ।
यस्तै, रक्सौल–काठमाडौं रेलमार्गको लगानी विधि निक्र्यौल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
‘बुढीगण्डकी जलविद्युत आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्यलाई अगाडि बढाइने छ। दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका निर्माण पूर्वका कार्य सम्पन्न गरिने छ,’ राष्ट्रपति पौडेलले भने, ‘माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोसी–५, जगदुल्ला चैनपुर–सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनसहित कार्यान्वयन सुरु गरिने छ। धुन्सा र सिम्बुवा जलविद्युत आयोजना रेमिट हाइड्रो अवधारणामा अगाडि बढाइने छ।’
यस्तै, कर्णाली चिसापानी आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन समेत आउने वर्ष सम्पन्न गर्ने नीति कार्यक्रममा उल्लेख छ। यसैगरी सरकारले विद्युतीय प्रसारणलाइनको स्तरोन्नतिमा समेत जोड दिएको छ।
‘राष्ट्रिय तथा अन्तरदेशीय उच्च क्षमताका विद्युत प्रसारण लाइनको सुदृढीकरण विस्तार एवं स्तरोन्नति गरिने छ। हेटौंडा, ढल्केवर, इनरुवा प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘बुढीगण्डकी करिडोरको प्रसारण लाइनको निर्माण सुरु गरिने छ।’
यस्तै सरकारले आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत नपुगेको क्षेत्रमा विद्युतीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।