राजनीतिक दलहरुबीच सहमति नहुँदा संवैधानिक संकट हुने अवस्था नआओस् : सभामुख घिमिरे
‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ। संवैधानिक संकट हुने अवस्था नआओस्,’ छलफलमा सभामुख घिमिरेले भने।
काठमाडौं, जेठ १ : सभामुख देवराज घिमिरेले दलहरुबीच सहमति नहुँदा संसदीय कामकारबाही प्रभावित हुने देखिएको र त्यसले संवैधानिक संकटको अवस्था सिर्जना गर्नसक्ने बताएका छन्।
नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुपूर्व दलका सचेतक तथा प्रमुख सचेतकसँगको छलफलका क्रममा सभामुख घिमिरेले दलहरूबीच सहमति नहुनुले नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताए।
‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ। संवैधानिक संकट हुने अवस्था नआओस्,’ छलफलमा सभामुख घिमिरेले भने।
यस्तै, बैठकमा कांग्रेस सचेतक सुशीला थिङले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्ने संसदीय समितिको निणर्य सुनाउँदै छानविन समिति नबनेसम्म संसदीय विरोधका कार्यक्रम जारी राख्ने जानकारी गराइन।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्ने समय दिनुपर्ने माग गरे।
‘सभामुखले गएको बैठकमा गृहमन्त्रीलाई बोल्न समय दिनुभएको थियो तर, बोल्न पाउनुभएको छैन। आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ, गृहमन्त्रीले बोल्न पाउनुपर्छ,’ उलने भने।
बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूची र नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे समेत जानकारी गराएको उनको सचिवालयले जनाएको छ।
सदनको गतिरोध अन्त्य गर्न निरन्तर प्रयासरत सभामुखले संयुक्त बैठक बस्नु अघि दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका हुन्।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)