Kathmandu Press

बैतडीमा चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन्।
बैतडीमा चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

बैतडी, वैशाख ३० : जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु  आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन्।

काम गरेका महिनौँ हुँदा समेत आफूहरूले पारिश्रमिक नपाउँदा  बाध्य भएर आन्दोलित हुनुपरेको बैतडी अस्पतालका डा हरिश्चन्द्र विष्टले बताए। भन्छन्, ‘आफुहरु बिरामीको सेवामा अहोरात्र खटिँदासमेत मन्त्रालयले रकम भुक्तानी गरेको छैन।’

Hardik ivf

विगत नौ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरे बापतको भत्ता र प्रयोगशालामा काम गरेको बापतको जोखिम भत्ताको रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकले आजदेखि सेवा ठप्प पारेका हुन्। उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिकबाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए।

बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्टिमेटम शनिबार सकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सक तथा स्वास्थ्यकर्मीको आरोप छ।

चिकित्सक बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीलेसमेत अतिरिक्त सेवा बापतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डा. धीरज जैसवालले बताए।

‘हामीले विगतदेखिनै तलब भुक्तानीका लागि माग गरेका हौं, तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन । बाध्य भएर आन्दोलनमा उत्रिएकका छौं,’ उनले भने।

आफुहरुको माग पूरा नभएसम्म ओपिडी सेवा सञ्चालन नगर्ने डाक्टर तथा कर्मचारीको अडान छ। जिल्ला अस्पतालका अख्तियार प्राप्त मेडिकल सुपरिडेन्ट र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेको जनाइएको छ। तर मन्त्रालयको भने बैतडी अस्पतालको समस्या समाधानतर्फ ध्यान जान सकेको छैन।

पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभएकाले आफुहरु धनगढीमै बसिरहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन्। डाक्टर तथा अस्पतालका कर्मचारीको टोलीले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन्।

यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकलाई सुझाएका छन्।

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्