‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता गरे शिक्षामा सुधार आउँछ : मन्त्री श्रेष्ठ
अनौपचारिक रुपमा संवादलाई अघि बढाए पनि त्यो सफल हुने नदेखिएकाले औपचारिक रुपमै पत्रमार्फत त्रिवि सुधारका लगि दलका शीर्ष नेतासँग छलफल प्रयास गर्ने बताइन्।
काठमाडौं, वैशाख ३० : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ठूला राजनीतिक दलहरूले राजनीतिक हस्तक्षेप नरोके त्रिभुवन विश्ववविद्यालयमा सुधार नहुने बताएकी छिन्।
संसदको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समिति बैठकमा उनले शीर्ष दलहरुले विश्वविद्यालयमा ‘नो मोर पोलिटिक्स’ भनेर प्रतिबद्धता जनाएरै त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
त्रिविको शैक्षिक क्यालेन्डर लागु गर्न दलका भ्रातृ संगठनहरूको अवरोध रहेको र त्यसमा आफूहरुले चाहेर मात्रै सुधार गर्न नसकिने उनले उल्लेख गरिन्।
उनले विश्वविद्यालयको क्यालेण्डर लागू गराई सुधार गराउन आफूहरुले अनौपचारिक पहल गरिरहेको पनि बताइन्। तर, अनौपचारिक रुपमा संवादलाई अघि बढाए पनि त्यो सफल हुने नदेखिएकाले औपचारिक रुपमै पत्रमार्फत त्रिवि सुधारका लगि दलका शीर्ष नेतासँग छलफल प्रयास गर्ने बताइन्।
‘टियू रिफर्मको लागि जबसम्म शीर्ष नेताहरुले कमिटमेन्ट दिँदैनन् यो अगाडि बढ्दैन। हामीले प्रशासन र संगठनको सुधारको प्रयास गरिरहेका छौं,’ उनले भनिन्, ‘समय नै दिएनन भने अब शीर्ष दललाई पनि पत्राचार गरेर एकै ठाउँमा ल्याएर नो मोर भन्ने कमिटमेन्ट उहाँहरुबाट ल्याउन सक्छौं होला।’
विश्वविद्यालय सुधारका लागि पहिला राजनीतिक दलका भातृ संगठनको सुधार गर्नुपर्ने भन्दै उनले उपकुलपतिले टियूमा हुने राजनीतिकरण सुधारका लागि शीर्ष दलका नेतृत्वसँग छलफल गर्न कोशिस गरिरहेको उल्लेख गरिन्। भ्रातृ संगठनका विद्यार्थी र शिक्षक, कर्मचारी संगठनको डरका कारण उपकुलपतिलाई पीएसओ राख्नुपर्ने अवस्था आएको मन्त्री श्रेष्ठले बताइन्।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)