Kathmandu Press

काठमाडौं महानगरले शुरु गर्यो स्वास्थ्य परामर्श र स्क्रिनिङ शिविर

आइतबारको शिविरमा ११८ जनाले परीक्षण गराएको महानगरले जनाएको छ। उनीहरुमध्ये करिब १५ प्रतिशतमा प्रारम्भिक मधुमेह तथा उच्चरक्तचापको समस्या देखिएको बताइएको छ।
काठमाडौं महानगरले शुरु गर्यो स्वास्थ्य परामर्श र स्क्रिनिङ शिविर

काठमाडौं, वैशाख ३० : स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ शिविर’ सुरु गरेको छ।

‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत व्यायाम व्यवसायी संघसँगको सहकार्यमा वडा नम्बर १७ को खुशिँवु बुद्धपार्कबाट शिविर थालेको हो। यसपछि खुला व्यायाम क्षेत्रमा यसप्रकारका शिविर आयोजना हुने महानगरले जनाएको छ।

Hardik ivf

शिविरमा रक्तचाप र मधुमेहको प्रारम्भिक परीक्षण गराइन्छ। परीक्षणबाट समस्याको सम्भावना देखिए समस्यालाई रोगमा रुपान्तरण हुन नदिन अपनाउनु पर्ने उपायका बारेमा विशेषज्ञ चिकित्सकबाट परामर्श हुन्छ।

यसमा आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीसँग सम्बन्धित विषय हुनेछन्।

आइतबारको शिविरमा ११८ जनाले परीक्षण गराएको महानगरले जनाएको छ। उनीहरुमध्ये करिब १५ प्रतिशतमा प्रारम्भिक मधुमेह तथा उच्चरक्तचापको समस्या देखिएको बताइएको छ।

यस्तो अवस्थामा रहेका व्यक्तिलाई आउँदो सात दिनसम्म के गर्ने, के नगर्ने, जीवनशैली (खानपान, व्यायाम) को सूची दिएर त्यसपछि फेरि स्वास्थ्य परीक्षण गराउन सुझाव दिइएको छ।

कार्यक्रम थालनी गर्दै वडा नम्बर १७ का अध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले स्वस्थ्य जीवनबाट मात्र समृद्धि सम्भव हुने बताउँदै रोगबाट थलिनुअघि नै स्वास्थ्य परीक्षणबाट समस्या थाहा पाउने, यसबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको जानकारी दिए।

‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडावडामा, टोलटोलमा योग कक्षा सञ्चालन गर्न प्रशिक्षक उत्पादन गर्ने कार्यक्रम सम्पन्न भइसकेको प्रवक्ता मानन्धरले जानकारी दिए।

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्