‘सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ’
समाज तथा व्यक्तिको मनमा रहेको नकारात्मकता हटाउन वैज्ञानिक र प्रामाणिक विधिका रुपमा योगध्यान रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले योगध्यानलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए।
काठमाडौं, वैशाख २९ : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताएका छन्।
परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एकदिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उनले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताए।
‘सुशासनका लागि कानुन र प्रशासनिक विधि चाहिन्छ, कानुनको शासन स्थापित गर्नैपर्छ, तर कानुन र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन,’ उनले भने,‘राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आम नागरिक राष्ट्रप्रति इमान्दार होउन्, कानुन र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैँले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशासन कायम हुन्छ।’
समाज तथा व्यक्तिको मनमा रहेको नकारात्मकता हटाउन वैज्ञानिक र प्रामाणिक विधिका रुपमा योगध्यान रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले योगध्यानलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए।
नेपाल योगध्यानको उद्गम थलो र उपयुक्त वातावरणका रुपमा रहेको जनाउँदै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत योगध्यानको महत्व तथा यसका प्रभावका बारेमा विशेष योजना ल्याइने बताए।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)