दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले राससलाई जानकारी दिए।सोलुखुम्बु, वैशाख २९ : यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन्।
आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले राससलाई जानकारी दिए।
कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो। ‘उहाँहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलोपटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरु जान्छन्,’ उनले भने।
शेर्पा समूहमा टोली प्रमुख डेन्डी शेर्पा (दोलखा), तेन्जिङ ग्याल्जेन शेर्पा, (सोलुखुम्बु), पेम्बा टासी शेर्पा (संखुवासभा), लाक्पा शेर्पा (संखुवासभा), दावा रिन्जे शेर्पा (संखुवासभा), दावा शेर्पा (संखुवासभा), पाम दोर्जी शेर्पा (सोलुखुम्बु), सुकबहादुर तामाङ (संखुवासभा), नामग्याल दोर्जे तामाङ (सोलुखुम्बु) र लाक्पा रिन्जी शेर्पा (संखुवासभा) छन्। यो वसन्त ऋतुमा ४१ वटा समूहका चार सय १४ आरोहीले सगरमाथ चढ्ने अनुमति लिएका पर्यटन विभागले जनाएको छ।