नेपाल टेलिकमले पायो ५ वर्षलाई मोबाइल सेवाको नयाँ लाइसेन्स
मन्त्रिपरिषद्काे निर्देशन बमाेजिम नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई थप ५ वर्षका लागि जीएसएम सेलुलर मोबाइल सेवाको नयाँ अनुमतिपत्र दिएको हो।काठमाडौं, वैशाख २८ : नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स फेरि प्राप्त गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई थप ५ वर्षका लागि जीएसएम सेलुलर मोबाइल सेवाको नयाँ अनुमतिपत्र दिएको हो।
प्राधिकरणले सरकारको निर्देशनअनुसार सो लाइसेन्स दिएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल टेलिकमको मोबाइल सेवाको अनुमतिपत्रको २५ वर्षे अवधि शुक्रबार सकिने भएकाले तत्काल नयाँ लाइसेन्स दिन प्राधिकरणलाई निर्देशन दिएको थियो।
प्राधिकरणले २१ करोड रुपैयाँ दस्तुरसहित टेलिकमलाई लाइसेन्स उपलब्ध गराएको राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्यालले जानकारी दिए। उनले टेलिकमले दस्तुर बुझाइसकेको पनि बताए।
नेपाल टेलिकमले २०५६ वैशाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र लिएको थियो। नयाँ लाइसेन्स लिन टेलिकमले गत माघ २८ गते नै प्राधिकरणमा आवेदनमा बुझाएको भए पनि कति दस्तुर लिएर कति अवधिका लागि पुनः अनुमतीपत्र जारी गर्ने भन्ने विषयमा अन्योल देखिएको थियो।
यसबारे दूरसञ्चार कानुनमा स्पष्ट उल्लेख नभएकाले प्राधिकरणले निकास दिन भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गरेको थियो।