Kathmandu Press

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

गगनले बोलिसकेपछि सभामुखले सदनलाई अघि बढ्न खोज्दा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहे। त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। 
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडाैं, वैशाख २८ : नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा कांग्रेसका सांसदहरू उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापालाई बोल्न समय दिए।

Hardik ivf

उनले संसदीय छानबिन समिति नबनेसम्म संसदीय कामकामकारबाही अघि बढ्न नदिने बताए। उनले कांग्रेसको मागलाई हल्का रुपमा नलिन सदनलाई चेतावनी दिए। थापाले कांग्रेस संसद चल्न दिने कुरामा गम्भीर भएको उल्लेख गर्दै छानविन समिति नबनेसम्म संसद नचले त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए। 

उनले भने, ‘सभामुखज्यू, म यहाँ उभिएर उठेका विषयमा कुरा राख्न चाहन्थें। हेलिकप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोध्न नि चाहन्थें। बाढी पहिरोको नियन्त्रणको बारेमा सोध्न नि चाहन्थें। दलहरु फोडेर उथलपुथल गर्ने काम कति बाँकी छ भनेर नि सोध्न चाहान्थे। तर यो प्रश्नमा उठाइरहँदा सांसदको घाँटी निमोठिदै छ भन्ने महसुश भइरहेको छ।’

उनले अगाडि भने, ‘गृह मन्त्रीजीले केही दिन अघि संसदबाहिर उभिएर संसद चार वर्ष बन्द गरेपनि हुन्छ भन्नुभएको थियो। आज सदनमा त्यस्तै किसिमको दृश्य बन्दैछ। यसको जिम्मा सरकारले लिने कि नलिने ? हामीलाई हल्का नठानियोस्। नेपाली कांग्रेस पार्टी संसद चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ। कांग्रेसको एउटा मात्र माग हो। संसदीय छानबिन बन्नुपर्दछ।’

संसदको अवरोधको जिम्मा पनि कांग्रेसले नलिने उल्लेख गर्दै उनले यसको जिम्मा सरकारले लिनुपर्ने बताए। थापाले आफ्ना कुरा राखेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेको सूचना सुनाएका छन्। 

गगनले बोलिसकेपछि सभामुखले सदनलाई अघि बढ्न खोज्दा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहे। त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्