Kathmandu Press

पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

'हामी स्थिर सरकारका पक्षमा छौं, हामीले जहिले पनि स्थिरता खोजेका छौं, त्यो दायित्वबाट पछि हट्दैनाैं, हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्दैनौं।'
पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री  यादव

भक्तपुर, वैशाख २८ : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको  फुटले सरकारलाई कुनै असर नगर्ने बताएका छन्। 

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, 'हामी स्थिर सरकारका पक्षमा छौं, हामीले जहिले पनि स्थिरता खोजेका छौं, त्यो दायित्वबाट पछि हट्दैनाैं, हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्दैनौं।'

Hardik ivf

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले आफ्नो पार्टीले राजनीतिक स्थिरता, सुशासन, विकास, समृद्धि र सङ्घीय गणतन्त्रको स्थायित्व खोजेकाले सरकार ढाल्ने खेलमा नलाग्ने बताए। उनले पार्टी फुटाएको विषयमा सर्वोच्च अदालतमा न्यायका लागि जाने बताए। 

उपप्रधानमन्त्री यादवले भने, 'म सरकारको प्रतिनिधित्व गरेर विदेश गएको बेलामा यहाँ षडयन्त्र गरेर पार्टी फुटाइयो, पार्टी फुटाएको विषयलाई लिएर हामी आइतबारसम्म सर्वोच्च अदालबाट कानुनीरुपमा चुनौती दिन्छौँ, सर्वोच्चले पक्कै न्याय दिनेछ र पार्टी फुटलाई बदर गर्नेछ।'
    
पार्टी फुटाएर षडयन्त्रपूर्वक अस्वाभाविक, सिद्धान्तबिहन रुपमा अनैतिक र असंवैधानिक कार्य गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले अदालतले पार्टी फुटलाई बदर गर्ने विश्वास रहेको बताए। नयाँ पार्टीको नाम, झण्डा र लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोलिपल्ट पार्टी दर्ता गराएको उनको आरोप थियो । 

'पार्टी फुटाएर लोकतन्त्र कमजोर पार्ने तथा देशमा अस्थिरता ल्याउन खोजेको देखियो,' उपप्रधानमन्त्री यादवले भने।

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, वैशाख २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्