Kathmandu Press

तरकारी किन्न बिहान र साँझ पाँच घन्टा, एक मिटरको दूरी राख्नुपर्ने

भक्तपुर, चैत १६ : भक्तपुुर नगरपालिकाले तरकारी बजार व्यवस्थित गरेको छ। तरकारी खरिदबिक्री हुने स्थानमा एक मिटरको दूरी कायम गरेर बेचविखन गर्न पाइने व्यवस....

तरकारी किन्न बिहान र साँझ पाँच घन्टा, एक मिटरको दूरी राख्नुपर्ने

भक्तपुर, चैत १६ : भक्तपुुर नगरपालिकाले तरकारी बजार व्यवस्थित गरेको छ। तरकारी खरिदबिक्री हुने स्थानमा एक मिटरको दूरी कायम गरेर बेचविखन गर्न पाइने व्यवस्था गरेको छ।

तरकारी र अन्य दैनिक उपभोग्य सामग्री खरिद गर्न आउने सर्वसाधारणलाई एक आपसमा निश्चित दूरी कायम नगरी किनमेल गर्दा भाइरस संक्रमणको सम्भावनालाई ध्यानमा राखी एक मिटरको दूरीमा बक्स कोरेको नगरपालिकाले जनाएको छ। तरकारी किन्न आउने उपभोक्ताले बक्सभित्र उभिएर लामबद्ध भई सामान खरिद गर्नुपर्नेछ।

नगरपालिकाका अनुसार टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा यसरी बजार व्यवस्थित गरिएको छ। नगरपालिकाले दैनिक उपभोग्य सामान खरिद गर्न बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेको समय निर्धारण गरेको छ।

यसैबीच भक्तपुुर नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारणलाई सुरक्षित गर्न विभिन्न स्थानमा कीटानाशक झोल स्प्रे गरेको छ। भक्तपुरको च्याम्हासिंहमा कीटनाशक झोल स्प्रेर गरिएको थियो।

त्यस्तै, बाराहीस्थान, गःपली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलबिनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, व्यासीदेखि कमलबिनायकसम्मको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकमा कीटनाशक झोल स्प्रे गरेको नगरपालिकाले जनाएको छ। यसलाई निरन्तरता दिइने जनाएको छ।

 

प्रकाशित मिति: ११:३८ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्