चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले मागपत्रमार्फत प्रधानमन्त्री दाहालसँग चियाबारी–खुर्कोट सुरुङ निर्माण थालनी गर्न आवश्यक बजेटसहितको व्यवस्था मिलाउन माग गरेका हुन्।
सिन्धुली, वैशाख २६ : बिपी राजमार्गअन्तर्गत पर्ने सिन्धुली चियाबारी–खुर्कोटमा सुरुङ मार्ग निर्माण थालनी गर्न सिन्धुलीका स्थानीय तहले प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन्।
कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले मागपत्रमार्फत प्रधानमन्त्री दाहालसँग चियाबारी–खुर्कोट सुरुङ निर्माण थालनी गर्न आवश्यक बजेटसहितको व्यवस्था मिलाउन माग गरेका हुन्।
सुनकोशी–मरिण डाइर्भसन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्न सुनकोशी गाउँपालिका–७ कानढुङ्गी आएका प्रधानमन्त्री दाहाललाई कमलामाई र गोलञ्जोरका पालिका प्रमुखहरुले उक्त मागपत्र बुझाएका छन्।
पूर्वी नेपाल तथा काठमाडौंको दूरी र पहुँचको हिसाबले अत्यन्त महत्वपूर्ण वैकल्पिक राजमार्गका रुपमा रहेको बिपी राजमार्गको सिन्धुलीमाढी चियाबारीदेखि गोलञ्जोर गाउँपालिकाको खुर्कोटसम्म (करिब ३९ किलोमिटर)मा सडक खण्ड कठिन अलाइन्मेन्ट, घुमाउरो र साँघुरो भएकाले दिनानुदिन दुःखद घटना बढिरहेको कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलद्वारा हस्ताक्षरित मागपत्रमा उल्लेख छ।
यस विषयलाई दृष्टिगत गर्दै बेलाबेला चियाबारी–खुर्कोट सुरुङ निर्माण गर्ने कुरा केन्द्रीयस्तरमा उठ्ने गरेको भए पनि कार्यान्वयनका लागि प्रयाससमेत नभएको गुनासो उल्लेख छ।
प्रधानमन्त्री दाहालले चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनीका लागि बजेटसहित आवश्यक प्रबन्ध चाँडै मिलाउने आश्वासन दिएका छन्।










![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)
